कास्की — पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज मङ्गलबार विहान भएको दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जनाए अनुसार चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ । पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।