फाइल तस्वीरः प्रहरी हिरासतमा एमालेका नेता टोपबहादुर रायमाझी ।
काठमाडौं — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । विभिन्न मितिमा पक्राउ परेका १६ जना आरोपीहरुलाई प्रहरीले म्याद थपका लागि आज आईतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएपछि थप तीन दिन हिरासतमा राख्न अनुमति पाएकोको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री तथा बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका सबैलाई थप तीन दिन थुनामा राखी अनुसन्धान गर्न गरिने भएको छ ।

सङ्गठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको थियो । सांसद रायमाझी, काङ्ग्रेसका केन्द्रीय सदस्य खाँण, नेपाल सरकारका बहालवाला सचिव पाण्डे र तत्कालिन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राईविरुद्ध राज्यविरुद्धको अपराधमा समेत मुद्दा चल्नेछ ।

यो प्रकरणमा केशव दुलाल, सानु भण्डारीसहितका व्यक्ति १२ चैतमा पक्राउ परेका थिए । संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आगामी शुक्रबार ६० दिन पूरा हुनेछ ।

जिल्ला सरकारी वकिल कार्यालयले ६० दिनभित्र मुद्दा दर्ता गर्न आफूहरुलाई अध्ययनका लागि पर्याप्त समय हुने गरी अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई ताकेता गरेको छ । प्रहरीले आईतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको थियो । तर प्रतिवेदन प्राप्त नभएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताउनुभयो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धान सकेर यथासिघ्र प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने बताउनुभएको छ ।