तेहरान — दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा सशस्त्र समूहसँगको भिडन्तमा आईतबार छ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अफगानिस्तानको सिमानामा पर्ने गरिबीले ग्रस्त सिस्तान–बलुचिस्तान लागूऔषध तस्कर गिरोहका साथै बलुची अल्पसङ्ख्यक र सुन्नी मुस्लिम चरमपन्थी समूहका विद्रोहीसँग भिडन्त भइरहने स्थल हो ।

पाकिस्तानसँगको इरानको सिमानामा रहेको सारावनमा सीमा सुरक्षाकर्मीको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले स्थानीय अभियोजक मेहदी शम्साबादीलाई उद्धृत गर्दै जनाएको छ । आइतबारको आक्रमण देशमा घुसपैठ गर्न खोज्ने आतङ्कवादी समूहद्वारा गरिएको जनाउँदै समाचार समिति फार्सले झडपपछि उक्त समूहका लडाका सीमा पारी भागेका जनाएको छ ।

यो आक्रमण हालैका महिनामा भएकामध्ये सबैभन्दा घातक हो । गत मार्च ११ मा सोही क्षेत्रमा अपराधीसँग भएको झडपमा दुई जना प्रहरीले ज्यान गुमाएका सरकारी समाचार समिति इर्नाले त्यसबेला जनाएको थियो ।