फाइल तस्वीरः जी–सेभेनको शिखर सम्मेलनमा उपस्थित नेताहरु ।
हिरोसिमा — जापानमा भइरहेको जी–सेभेनका नेताहरुको शिखर सम्मेलनले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने भएको छ । जापानको हिरोसिमामा जारी जी–सेभेनको शिखर सम्मेलनले गतवर्षदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमाथि कडा प्रतिबन्ध लगाउन लागेको हो ।

उक्त शिखर सम्मेलनमा अचानक युक्रेनी राष्ट्रपति भ्लोदिमेर जेलेन्स्कीलाई बोलाइपछि उहान्को भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जी–सेभेनको शिखर सम्मेलन आज समापन हुँदैछ । युक्रेनी राष्ट्रपति जेलेन्स्की हिजो जापान पुग्नुभएको हो ।

जी–सेभेन सम्मेलन समापनको पूर्वसन्ध्यामा हतारिएर जापान पुग्नुभएका जेलेन्स्कीको भ्रमणले जी–सेभेन सम्मेलनमा सहभागी नेताहरुलाई रुसको निन्दा गर्दै विज्ञप्ति निकाल्न बाध्य बनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेकाछन् । ।

युक्रेनलाई अत्याधुनिक लडाकु विमान खरिदका लागि अमेरिकी स्वीकृति प्राप्त भएपछि जेलेन्स्की शनिबार अपराह्न हिरोसिमा पुग्नुभएको हो । उहाँ जी–सेभेनका साथै आमन्त्रित प्रमुख विकसित प्रजातान्त्रिक मुलुकका नेताहरूसँग सम्मेलनमा सहभागी हुनुहुने बताइएको छ ।

जी–सेभेनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् । तर यो वर्ष अन्य आठ राष्ट्रहरूलाई आमन्त्रित गरिएको छैन । गत वर्षदेखि सुरुभएको रुस युक्रेन युद्धमा अहिलेसम्म तटस्थ बसेको मुलुक भारतले पनि युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । जी–सेभेन नेताहरु रुसी युद्ध अन्त्यका लागि कडा प्रतिबन्धहरु लगाउन सहमत भएका छन् ।