फाइल तस्वीर
हेटौंडा — बागमती प्रदेशमा लामो समयदेखि सरकारले पूर्णता पाउन नसकेको आलोचनापनि मुख्यमन्त्रीले चलाखीपूर्ण निर्णय गर्नुभएको छ । सरकारले पूर्णता पाउन नसकेको विषयलाई लिएर मुख्यमन्त्री शालिकराम जमरकट्टेलको आलोचना हुनथालेपछि उहाँले सरकारलाई आफ्नोतर्फबाट पूर्णता दिने चलाखीपूर्ण निर्णय गर्नुभएको हो ।

सरकारलाई विस्तार गर्न गठबन्धनबीच भागबण्डा नमिलेर बागमती प्रदेशले लामोसमयदेखि सरकारको पूर्णता पाउन सकेको छैन । सरकार विस्तारमा लामो समयदेखि समस्या बन्दै आएको भागबण्डाको विषय मिलाउन मुख्यमन्त्री जम्कट्टेलले जेठ १ गते सोमबार मन्त्रिपरिषद बैठकबाट निर्णय गर्दै सत्तासाझेदार दल नेपाली काङग्रेसलाई पाँच वटा मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

मुख्यमन्त्रीमा दावी गर्दैआउनुभएका नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामालाई चैत २६ गते प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थ लामालाई मुख्यमन्त्रीले खानेपानी उर्जा तथा सिँचाई मन्त्री नियुक्त गर्नुभएको थियो ।

बागमती प्रदेशका ११ वटा मन्त्रालयमध्ये मुख्यमन्त्री जम्कट्टेलले मुख्यमन्त्रीसमेत गरी चार वटा मन्त्रालय नेकपा माओवादी केन्द्रको भागमा, पाँच वटा मन्त्रालय नेपाली काङ्ग्रेसको भागमा र बाँकी दुईवटा मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा रहने गरी निर्णय गर्नुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले तत्कालीन सत्ता गठबन्धनबाट अलग भएको एमाले र राप्रपाले छोडेका सात वटा मन्त्रालयमध्ये काङ्ग्रेसलाई पाँच र नेकपा एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर भागबण्डा मिलाउनुभएको हो । तत्कालीन सत्तागठबन्धनबाट चैत १० गते एमालेले बाहिरिंदै मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको थियो । योसँगै तत्कालीन गठबन्धनबाट एमाले बाहिरिएपछि प्रदेशको ११ मन्त्रालय मध्ये ६ मन्त्रालय मन्त्रीविहीन अवस्थामा रहेको थियो ।

मन्त्रालय भागबण्डाको विषयमा टुङ्ग्याउन कार्यदल नै बनाएर छलफल गरेका सत्ता गठबन्धनका दलहरुको कुनै निश्कर्ष नआएपछि विगत चार महिनादेखि सरकारले पूर्णता पाउन सकेको थिएन ।

गत पुस २५ मा सरकार गठन गर्दा मुख्यमन्त्री जम्कट्टेललाई एमाले र राप्रपासहित एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको थियो । सो गठबन्धन राष्ट्रपति निर्वाचनमा भत्किएपछि काङ्ग्रेस र माओवादी केन्द्रसहित एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन मुख्यमन्त्रीलाई रहेको थियो । नयाँ सत्ता गठबन्धन बनेपछि मुख्यमन्त्रीले गत चैत २६ गते नेपाली काङ्ग्रेसका दुई जना मन्त्री नियुक्त गरी सरकारमा सामेल गराउनु भएको थियो ।

मुख्यमन्त्री जमरकट्टेलले यस अघि नै माओवादी केन्द्रबाट गङ्गा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री, युवराज दुलाल ‘शरद’ भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्री नियुक्त गर्नुभएको थियो ।

अहिले मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री लामालाई काङ्ग्रेसको भागमा परेका तीन मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । मुख्यमन्त्री जम्करट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।