पत्रपत्रिकाबाट
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ । सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति मागेको थियो । अदालतले सहमति दिएपछि हालसम्मको अनुसन्धान संगठित अपराधकै सन्दर्भमा भइरहेको छ ।

अनुसन्धानमा खुल्दै गएका तथ्यका आधारमा यो प्रकरण अब ठगीसम्बन्धी कसुर र संगठित अपराधमा मात्रै सीमित हुने देखिन्न । यो प्रकरणमा संलग्नता पाइएकाहरूमाथि झन्डै पाँच कसुर आकर्षित हुन सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन् । जसमा अनुसन्धान भइरहेको ठगीसम्बन्धी कसुर, संगठित अपराधसम्बन्धी कसुर, राज्यविरुद्धको कसुर र लिखतसम्बन्धी (किर्ते) कसुर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट नै चलाउन सकिने देखिएको छ ।

यस्तै यो प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुर पनि आकर्षित हुने देखिएको छ । जसको अनुसन्धान र तहकिकातका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा फाइल पठाउन सकिने प्रावधान रहेको जानकार बताउँछन्। अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमार्फत मुद्दा चलाउन सक्छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले यस प्रकरणमा दोषी पाइएकाहरूमाथि पाँचवटै कसुरमा मुद्दा चलाउन सकिने अवस्था रहेको बताउँछन् । ‘अहिलेसम्म त हामीलाई अनुसन्धानको प्रतिवेदन आइसकेको छैन । आएपछि विस्तृतमा अध्ययन गरेपछि कुन मुद्दा चलाउने भन्ने निर्णयमा पुग्छौं,’उनले भने, ‘अहिलेसम्म पाँचवटासम्म कसुर आकर्षित हुने देखेका छौं । तीमध्ये चारवटामा त हामीले नै अभियोजन गरेर मुद्दा दायर गर्न सकिने अवस्था छ ।’

कुन कसुरमा मुद्दा चलाउने भन्ने कुरा प्रहरीले दिने प्रतिवेदनबाट निक्र्योल गरिने न्यौपानेले बताए । आजको नागरिक दैनिकमा छ ।