फाइल तस्वीर
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी(एमाले) सांसद एवम् निलम्बित सचिव टोपबहादुर रायमाझीका साथै नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका हाईप्रोफाइलका नेताद्वय र यसमा संलग्न अन्यलाई अनुसन्धानको लागि तीन दिनको म्याद थपिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेपछि म्याद थपिएको छ । अदालतले आरोपीहरुलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी गराउनुभयो ।

नक्कली भुटानी प्रकरणमा प्रहरीले आइतबार साँझ एमालेका नेता एवम् सांसद रायमाझीलाई बूढानीलकण्ठस्थित आफन्तको घरबाट पक्राउ गरेको थियो भने काङ्ग्रेस नेता खाँणलाई गत बिहीबार पक्राउ गरेको थियो ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । मुख्य योजनाकार दुलाल रायमाझीका निकट मानिन्छन् । यी उनीहरुलाई पक्राउ गरेको तीन दिनपछि प्रहरीले मोरङका सागर राई पनि पक्राउ परेको थियो ।

उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले वैशाख १९ गते पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको भोलिपल्ट वैशाख २० गते उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ गरेको थियो । सचिव पाण्डे बालकृष्ण खाँड गृहमन्त्रीहुँदा गृहमन्त्रालयका सचिवमा कार्यरत थिए ।

सचिव पाण्डेको बयानको आधारमा तत्कालीन गृहमन्त्री खाँणलाई प्रहरीले पक्राउ गरेको थियो । उक्त प्रकरणमा अहिलेसम्म १३ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध मानव बेचविखनविरुद्ध पनि मुद्दा लाग्न सक्ने कानुन व्यवसायीहरुको भनाइ छ ।