फाइल तस्वीर
जलेश्वर — महोत्तरी जिल्लामा केही दिनदेखि बढेको गर्मीले अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि हुदाँ जनजीवन प्रभावित भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२/४३ डिग्रीसमेत तापक्रम पुगेको हो ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा मनिषा भारद्वाजका अनुसार गर्मी बढेसँगै अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बृद्धि भएको छ । सामान्यरूपमा ७०/७५ उपचारका लागि आउने गरेकामा अहिले एक सय ५० देखि दुई सय ५० बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गर्मीले आउ, ज्वरो, झाडापखाला, टाइफाइड, छालाजन्य रोग, पानीको कमी र जन्डिसका बिरामीको सङ्ख्या अत्यधिक बढेको हो । अधिकांश झाडापखालाका बिरामी अस्पतालमा आउने गरेका र अधिकांश आठ वर्षमुनिका बालबालिका र ५०/६० वर्षमाथिका वृद्धवृद्धा रहेका मेडिकल सुपरिटेन्डेन्ट डा भारद्वाजले बताउनुभयो ।

चर्को घाम र तातो हावाका कारण जिल्ला सदरमुकाम जलेश्वर नगर क्षेत्रसहित सहरी र ग्रामीण क्षेत्रमा दिउँसो सर्वसाधारणको आवतजावत घटेको छ । अत्यधिक गर्मीका कारण जिल्लाका ह्याण्डपाइप, कुवा, इनार, पोखरीलगायत पानीको मुहान सुक्न थालेका छन् । जलेश्वर नगरसहित जिल्लाका उत्तरवर्ती अधिकांश क्षेत्रका अनेकौँ हयाण्डपाइपबाट पानी आउन छाडेका छन् ।

चर्को घाम र तातो हावाका कारण बिहान १०/११ बजेदेखि अपराह्न ५ बजेसम्म प्रायः सडक सुनसान नै हुन्छन् भने अत्यावश्यक कामबाहेक सर्वसाधारण घरमै बस्छन् । गर्मीसँगै लामो खडेरीका कारण यहाँका अधिकांश किसानले धानको बीउ राख्न पाएका छैनन् । अकाशे पानीको भरमा खेती गर्ने किसान वर्षा नभएकाले बीउ राख्न नपाउँदा खेत बाँझै रहने चिन्तामा छन् । गर्मीले गर्दा तरकारी बाली र फलफूलमा पनि प्रतिकूल प्रभाव पारेको छ ।