बेइजिङ — चीनले जासुसी गरेको आरोपमा ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ । अमेरिकी पासपोर्ट धारक जोन शिङ्ग–वान लेउङ्गलाई जेल सजाय तोकिएपछि बेइजिङ र वासिङ्टनबीचको सम्बन्धलाई थप तनाव उत्पन्न हुने सम्भावना बढेको हो ।

चीनको पूर्वी सहर सुझोउस्थित एउटा अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हङकङका स्थायी बासिन्दा लेउङलाई जासुसीगरेको अभियोगमा दोषी ठहर गरिएको छ । उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको छ र आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको छ ।

सन् २०२१ को अप्रिलमा सुझोउका अधिकारीहरूले ७८ वर्षीय लेउङविरुद्ध “कानुनी कदम चालेका’ विज्ञप्तिमा जनाइएकोे छ । पक्राउ पर्दा लेउङ कहाँ बस्दै आउनुभएको थियो भन्ने स्पष्ट भइसकेको छैन । बेइजिङस्थित अमेरिकी दूतावासका प्रवक्ताले सुझोउमा हालै एक अमेरिकी नागरिकलाई दोषी ठहर गर्दै सजाय सुनाइएको खबरबारे आफूहरू जानकार रहेको बताउनुभयो ।

विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभयो, “विदेश मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही छैन । “गोपनीयताको विचारको कारण, हामीसँग थप टिप्पणी छैन ।

अदालतको बयानले आरोपहरूको बारेमा थप विवरण दिएको छैन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार नियमित पत्रकार सम्मेलनमा यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गर्नुभयो ।