फाइल तस्वीरः पूर्वगृहमन्त्री बालकृष्ण खाँण
काठमाडौं — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि थप अनुसन्धान गर्न चार दिनको म्याद थप गरेको छ ।

नेपाल प्रहरीले उक्त अभियोगमा अनुसन्धान गर्न नपुगेको भन्दै म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । उनी समेत अन्यको पनि थुनामा राखी अनुसन्धान गर्न म्याद थप भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी मध्ये प्रहरीले १२ जनालाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।

सोही प्रकरणमा पक्राउ पुर्जी जारी गरिएकाहरुमध्ये एमालेका सांसद् एवम् निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बालदका छोरा प्रतीक थापासहित केही व्यक्तिहरु फरार रहेका छन् ।

प्रहरीले पक्राउ परेका सबैविरुद्ध १० दिनभित्र अदालतमा मुद्दा दायर गर्नुपर्ने हुन्छ । आरोपीहरुलाई थुनामा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ ।