साङ्केतिक तस्वीर
महोत्तरी — नेपाल प्रहरीले एक जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । महोत्तरी जिल्लाको हलखोरीबाट हतियारसहित २५ वर्षीय पप्पु यादवलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका अनुसार पक्राउ पर्नेमा भारत सितामढीको बाजपट्टी बस्ने वर्ष २५ को पप्पु यादवलाई प्रहरीहरुले शनिबार राति चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

प्रहरी चौकी हलखोरीको प्रहरी सहायक निरीक्षक रामेश्वरप्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनको साथबाट एक थान सानो पेस्तोल र त्यसमा प्रयोग हुने पाँच राउण्ड गोली बरामद गरेको महोत्तरी प्रहरी कार्यालयका प्रवक्ता गिरीले जानकारी दिनुभयो । भारतीय बिआर ३० वाइ ९१४२ नम्बरको मोटरसाइकल सवार पप्पुलाई थप अनुसान्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमाा राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई थप अनुसन्धान गरी हातहतियार तथा खरखजाना सम्वन्धी मुद्दा चलाइने भएको छ । एक महिना अघी मात्रै तिनै पप्पु यादवले हलखोरीमा एक स्थानीयलाई कन्चटमा पेस्तोल तेस्र्याउँदै मार्ने धम्की दिएको प्रहरीले जनाएको छ ।