फाइल तस्वीरः प्रकृति संरक्षण कोष सौराहामा हुर्किएका अञ्जली र पुष्पा ।
सौराहा — प्रकृति संरक्षण कोष सौराहाले गैँडाका दुई बच्चालाई चितवन राष्ट्रिय निकुञ्जमा पुर्न स्थापित गर्ने भएको छ । प्रकृति संरक्षण कोषले हुर्काएका अञ्जली र पुष्पा नामका दुवै गैँडालाई निकुञ्जको लामि ताल क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णयअनुसार आज आइतबार अञ्जली र पुष्पालाई निकुञ्जकै लामि ताल क्षेत्रमा लगेर छाड्न लागिएको हो । मातृ विहीन अवस्थामा भेटिएका पुष्पा र अञ्जलीलाई संरक्षण कोषको संरक्षणमा सौराहामा पालेर हुर्काइएको थियो । संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीवाट नियन्त्रणमा लिएर सौराहामा ल्याइएको थियो ।
कोषको संरक्षण तथा पालन पोषणमा अहिले पनि गैंडाको अर्को एक पूजा नाम गरेको बच्चा छ । यसलाई २०७९ कात्तिकमा फेला पारेर कोषले पालन पोषण र रेखदेख गर्दै आएको छ । यसरी फेला परेको गैँडाका बच्चालाई सुरुसुरुमा दूध नै खुवाएर हुर्काउने र पछि विस्तारै घाँस र कुँडो खुवाउने गरिएको कोषले जनाएको छ ।
चितवन निकुञ्ज र प्रकृति संरक्षण कोषले अहिलेसम्म पुष्पा र अञ्जली जस्ता १५ वटा मातृ विहीन गैँडाको बच्चालाई हुर्काइ सकेको छ । यस कार्यले गैँडा संरक्षणमा महत्वपूर्ण योगदान रहेको कोषले जनाएको छ ।