लुम्बिनी — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो ।

ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने उपकरण), प्रेसर क्लिनर (गोठ सफा गर्ने उपकरण), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायत सामग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । करिब १० लाख रुपैयाँ बराबरको साना कृषि औजार वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवरले जानकारी दिनुभयो ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कृषकको समय बचत गर्न र पशुपालक कृषकलाई काममा अग्रसर गराउन यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले पछिल्लो समय युवाको कृषिमा सहभागीता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग पुग्नेमा चर्चा गर्नुभयो ।