फाइल तस्वीर
दमक — झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परी प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरुद्ध आन्दोलन गर्दै आएका आन्दोलनकारीहरुद्वारा हिजो मङ्गलबार साँझ निकालिएको राँके जुलुसमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दश जना प्रहरीसहित केही आन्दोलनकारी घाइते हुन पुगेका हुन् ।

कोशी प्रदेशको नामाकरणप्रति विरोध जनाउँदै आएको समूहले हिजो साँझ झापाको दमकमा राँके जुलुसको प्रदर्शन गरेको थियो । त्यहाँ दुई महिनादेखि असन्तुष्ट समूहले विभिन्न चरणका विरोध कार्यक्रमहरु गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य क्षेत्र गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेको थियो । राँको निभाउने क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीबीच विवाद उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीमाथि आक्रमण गरेपछि आन्दोलनकारीहरूको भिडलाई तितरवितर गर्न प्रहरीले १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दोहोरो झडपका कारण साँझमा दमक बजार क्षेत्र पुरै बन्द भएको थियो ।

भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीको छर्रा लागेर दुइजना आन्दोलनकारी गम्भिर घाइते भएको आन्दोलनमा सहभागी लिम्बुवान भोलेन्टियरका केन्द्रीय कमाण्डर थाङसाङ लावतीले बताएका छन् । आन्दोलनकारीतर्फ १२ जना घाइते भएको बताइएको छ ।
घाइते दुबैजनाको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको जनाइएको छ

दोहोरो झडप हुँदा घाइते भएका प्रहरीहरूको सरकारी दमक अस्पताल, लाइफलाइन अस्पताल लगायतका स्थानीय अस्पतालहरूमा उपचार भएको छ । घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।