पत्रपत्रिकाबाट

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयकका सन्दर्भमा कानुन व्यवसायीसँग परामर्श गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलासँग राष्ट्रपति कार्यालयमा सोमबार भएको छलफलमा आठबुँदे जिज्ञासा राख्नुभयो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले नागरिकता विधेयकको संवैधानिक अवस्थाबारे जिज्ञासा राख्नुभयो । उहाँले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि आएको यो विधेयकको संवैधानिक अस्तित्व के हो ? दुई–दुई पटक सम्प्रभु संसद्बाट आएको विधेयक म्यादभित्र प्रमाणीकरण नभइसकेपछि जहिलेसुकै प्रमाणीकरण गर्न मिल्ने हो कि होइन ? भन्ने जिज्ञासा राख्नुभयो । उहाँका अनुसार यदि प्रमाणीकरण गर्न मिल्ने हो भने ब्युँताउने संवैधानिक व्यवस्था के हो ? भनेर बारका दुई अध्यक्षलाई सोध्नुभयो ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण नभई रहे–बसेको विधेयक संविधानको कुन व्यवस्थाअनुसार व्रिmयाशील हुन्छ ? यो विधेयकले संसद्मा पुनः प्रवेश पाउने हो भने वा राष्ट्रपतिले यही रूपमा प्रमाणीकरण गर्नुपर्ने हो भने संविधानको कुन व्यवस्था अन्तर्गत गर्न मिल्ने हो ? भन्ने जिज्ञासा पनि राख्नुभयो ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार यदि संविधानमा कुनै कुरा प्रस्ट छैन भने अन्तर्राष्ट्रिय अभ्यास र प्रचलन अनुसार के–के गर्दा हुने हो र दुई–दुई पटक संसद्ले पारित गरेर राष्ट्रपतिसमक्ष आएको विधेयक फेरि फिर्ता गर्ने संवैधानिक व्यवस्था के हो ? भन्ने जिज्ञासा राष्ट्रपतिले राख्नुभयो  । उहाँले भन्नुभयो, “राष्ट्रपतिज्यूले विधेयक पद्धति प्रव्रिmयाअनुसार प्रस्तुत भइसकेपछि प्रमाणीकरण गर्नु वा नगर्नु राष्ट्रपतिको स्वविवेक हो भने संसद्को सार्वभौमिकताको प्रश्न कहाँ जान्छ ? राज्य व्यवस्थाको अवस्था र स्थिति के हुन जान्छ ? यसबारे संवैधानिक बाटो के हो ? खुलाउन भन्नुभएको छ ।”

साथै राष्ट्रपति पौडेलले शक्ति पृथकीकरणमा कार्यपालिकाले विधेयक संसद्मा पेस गरिसकेपछि संसद्को विशेषाधिकार के हुने हो ? भनेर कानुन व्यवसायीसँग सोध्नुभयो । (आजको गोरखापत्र दैनिकबाट)