ब्राउन्सभिल — टेक्सासको ब्राउन्सभिलमा आइतबार एउटा गाडी भीडमा ठोक्किदा आठ जनाको मृत्यु भएको छ । निधन हुनेहरूमा सबै आप्रवासीहरू भएको विश्वास गरिएको हो ।

सो दुर्घटनामा कम्तीमा ११ जना घाइते भएको पनि अमेरिकामा आधारित फक्स न्युजले उल्लेख गरेको छ । द हिलले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार विभिन्न समुदायका आप्रवासी र घरबारविहीन व्यक्तिहरूको लागि आश्रयस्थल जस्तै बनेको ब्राउन्सभिलको ओजानम सेन्टर नजिकै रहेको बस स्टपमा एउटा कार भीडमा ठोक्किएपछि सो दुर्घटना भएको हो ।

ब्राउन्सभिल एक सीमावर्ती शहर हो जहाँ मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूको बसाइँ रहेको छ । प्रहरीले चालकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा लिइएको र अहिले क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका र २४ घण्टा निगरानीमा रहेका चालकको बारेमा थप जानकारी दिइएको छैन ।