फाइल तस्वीरः गण्डकी प्रदेश सरकार,
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजो बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गरेलगतै सरकार विस्तार गर्न लाग्नुभएको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताउँदै अब, दुई/तीन दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले पूर्णता पाएर मन्त्रीहरुले कार्यजिम्मवारी सम्हालेपछि सरकारका कामकारबाहीले गति लिने उहाँको भनाइ छ । “मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पनि पाइसक्नुभएको छ, अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदैन, सरकार सहज रुपमा अघि बढ्छ”, प्रवक्ता तिवारीले भन्नुभयो ।
साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३५ बहुमत सदस्यले मुख्यमन्त्री पाण्डेलाई बिहीबार विश्वासको मत दिएका थिए । नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत हाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रेशम जुग्जालीले गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डा मिलिसकेको बताउनुभयो । “मन्त्रालयको जिम्मेवारीमा जाने पात्रहरुबारे अहिले दलगत रुपमा छलफल केन्द्रित छ”, उहाँले भन्नुभयो, “मन्त्रीको नाम टुङ्गो लाग्नासाथ सरकारले पूर्णता पाउँछ ।”
“एकीकृत समाजवादीलाई कुन मन्त्रालय दिने भन्ने विषय मुख्यमन्त्रीले नै मिलाउनुहुन्छ, गठबन्धनले त्यसको जिम्मेवारी उहाँलाई नै दिएको छ”, प्रदेशसभा सदस्य जुग्जालीले भन्नुभयो, “मन्त्रालयको संख्या भने सातभन्दा बढ्दैन ।” निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्यालाई १२ बाट घटाएर सातमा पु¥याएको थियो ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले पदभार ग्रहणका बेला मन्त्रालयको सङ्ख्या नथप्ने प्रतिबद्धता जनाउनुभएको थियो । हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र काङ्ग्रेसका सरस्वती अर्याल तिवारी रहनुभएको छ ।