फाइल तस्वीरः गण्डकी प्रदेशसभा बैठक
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको हो ।


विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो । मुख्यमन्त्री पाण्डेलाई नेपाली काङ्ग्रेसका २७ , नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)को एक गरी ३५ मत प्राप्त भएको थियो । प्रस्तावका विपक्षमा नेकपा (एमाले) का २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बस्नुभएको छ ।

प्रदेशको मुख्यमन्त्रीमा यही वैशाख १४ गते नियुक्त हुनुभएका पाण्डेले १५ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । विश्वासको मत पाएसँगै पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री पाण्डेले अब सरकारका काम तीव्ररूपमा अघि बढ्ने बताउनुभयो । मन्त्रिपरिषद्लाई चाँडै नै पूर्णता दिने बताउँदै उहाँले यस सम्बन्धमा गठबन्धनका दलबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

सरकारका तर्फबाट आगामी नीति तथा कार्यक्रमको गृहकार्य भइरहेको उहाँको भनाइ थियो । पत्रकारको अर्को जिज्ञासामा उहाँले पछिल्ला समयमा अल्पमतको कामचलाउ सरकार भइसकेपछि केही योजनालाई बढाएको पाइएको बताउनुभयो । ती योजना आवश्यकताका आधारमा या राजनीतिक आग्रहका आधारमा बढाइएको सम्बन्धमा पुनःविचार गरिने उहाँले बताउनुभयो ।