फाइल तस्वीरः मच्छिन्द्र फुटबल क्लब
काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, ओलावाले आफिज र विमल घर्तीमगरले एक–एक गोलको साझेदारी गर्दै आफ्नो टिमलाई विजयी गराएका हुन् ।

यता सङ्कटाका लागि भने जुनियर एनकेनगुएले एक गोल फर्काए । खेलको चौथो मिनेटमा देवेन्द्रले गोल गर्दै मच्छिन्द्रलाई पहिलो अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा मच्छिन्द्रका खेलाडी ओलावाले गोल गर्दा आफ्नो टिमको अग्रता दोब्बर बनाए ।

यसैगरी खेलको ७८ औं मिनेटमा सङ्कटाका खेलाडी जुनियरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । खेलको ८९ औं मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित दिलाए । यस जितसँगै मच्छिन्द्र १४ खेलमा २१ अङ्क जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान १४ खेल नै खेलेको सङ्कटाको भने १६ अङ्क तालिकाको ११ औं स्थानमा रहेको छ ।