काठमाडौं — नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ । उहाँलाई भैरहवाबाट पक्राउ गरिएको हो ।

हिजो बुधबार छोरा सन्दीप रायमाझी पक्राउ परेपछि उहाँ सम्पर्कबिहीन हुनुभएको थियो । प्रहरीले आज टोपबहादुर रायमाझी र छोरा सन्दीपलाई विमानमार्फत काठमाडौँ ल्याउने तयारी गरेको जनाएको छ । प्रहरीले सन्दीपलाई हिजो बुटवलबाट पक्राउ गरेको थियो । भैरहवामा विहानको मौसम खराब भएकाले ल्याउन केही ढिलाइ भएको प्रहरीले जनाएको छ । छोरा पक्राउ परेपछि हिजो काठमाडौँ आउनका लागि विमानको टिकट काट्नुभएमा टोपबहादुर रायमाझीले भने अन्तिम समयमा टिकट रद्द गर्नुभएको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । उहाँलाई पेप्सीकोलाबाट बुधबार दिउँसो पक्राउ गरिएको हो । पाण्डे उपराष्ट्रपति कार्यालयमा सचिव हुनुहुन्थ्यो । उहाँ २०७८ साउन २७ लदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव रहनुभएको थियो । पक्राउ परेसँगै उहाँ निलम्बनमा पर्नुभएको छ । पाण्डेलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति समेत दिइसकेको छ ।

सोही प्रकरणमा अर्का योजनाकार पूर्वगृहसचिव रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पै्रहरीले मङ्गलबार पक्राउ गरेको थियो । प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरुमाथि अनुसन्धान जारी रहेको बताउनुभयो । यस प्रकरणमा हालसम्म आठ जना पक्राउ परिसकेका छन् ।