तस्वीरः एकसिंगे गैंडा
चितवन— चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी विगत आठ वर्षको विचमा विश्वकै दुर्लभ मानिने एकसिंगे दुई सय २० वटा गैंडाको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्जका अनुसार ६४ वटा गैंडा बुढो भएर र भिरबाट लडेर मरेका हुन भने १९ वटा गैंडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् ।

यसैगरी सोही अवधिमा एकआपसमा जुधेर ५१ वटा गैंडा मरेका हुन भने बाघको आक्रमणबाट २० वटा, चोरी शिकारीबाट नौ वटा, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन वटा, विष सेवनको कारणले पाँच तथा कारण नखुलेका २९ वटा गैंडा मरेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभएको छ । सूचना अधिकारी तिवारीले जनाए अनुसार यी सबै गैंडा आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म मरेका हुन ।

सूचना अधिकारी तिवारीका अनुसार विगत आठ वर्षमा एक सय भाले र ७६ वटा पोथी गैंडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ वटा गैंडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैंडा आ.व २०७५/७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सोही आ.व.मा ४३ वटा गैंडा मरेका थिए । सबैभन्दा कम आ.व. २०७२/७३ मा १४ वटा गैंडा मरेको तिवारीले बताउनुभयो । सूचना अधिकारी तिवारीका अनुसार आ.व. २०७३/७४ मा २५ वटा, आ.व. २०७४/७५ मा २६ वटा, आ.व. २०७६/७७ मा २६ वटा, आ.व. २०७७/७८ मा ३३ वटा र आ.व २०७८/७९ मा ३७ वटा गैंडा मरेका छन् । चालु आ.व को हालसम्म १६ वटा गैंडा मृतावस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जको तथ्याङ्कअनुसार आ.व. २०६५/६६ देखि आ.व २०७९/८० सम्म तीन सय २३ वटा गैंडा मरेका छन् । निकुञ्जमा गैंडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको सङ्ख्या धेरै रहेको तिवारीले बताउनुभयो । गैंडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।