राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीर
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा आज बुधबार उक्त अध्यादेश जारी गर्नुभएको हो ।
नेपालको संविधानको धारा ११४ उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले आज उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी मिटरब्याज पीडितको समस्या समाधान गर्न कानुनी रुपमा दण्डनीय बनाउन उक्त अध्यादेश ल्याएको हो ।
सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्नुपर्ने भएकाले अध्यादेश ल्याउनुपरेको बताउनुभएको थियो ।
अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागेको छ । मिटरब्याज पीडितको एक समूहसँग गत चैत १७ गते गरेको सहमति अनुसार सरकारले कानुन संशोधन गर्न अध्यादेश ल्याइएको हो । संसद चलिरहेको समयमा विधेयकमार्फत कानुन संशोधन नगरी सरकारले संसद अधिवेशन अन्त्य भएको समयमा अध्यादेशमार्फत ऐन संशोधन गरेको छ ।