नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल
सुर्खेत — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुनैपनि बेला गठबन्धन तोडिन सक्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेर आज बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उक्त पत्रकार सम्मेलनमा कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाउँदै अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने चेतावनी दिंदै ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । सरकारमा एकलौटी गर्न खोजिएको छ । हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। यसले गठबन्धन धरापमा पर्न सक्छ’ भन्नुभयो ।

नेता नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो चाहना रहेको भन्नुहुँदै समाज समृद्ध भए मात्र जनता खुसी हुने हुँदा आफ्नो पार्टी समृद्धिको अभियानमा लागेको उल्लेख गर्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरेको दावी गर्दै अध्यक्ष नेपालले देश विकासका निमित्त आफ्नो कार्यकालमा महत्त्वपूर्ण काम भएको जिकिर समेत गर्नुभयो । सो अवसरमा नेता नेपालले भ्रष्टाचार, सबै खालका विकृतिबाट टाढा रहने र अरूभन्दा भिन्न देखिन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिइएको बताउनुभयो । ।

पूर्वप्रधानमन्त्री नेपालले अप्ठ्यारो बेलाको र पार्टीभित्रबाट चुनौती आउँदा पनि आफूले निकै काम गरेको दावी गर्दै त्यसको चर्चा कतै चर्चा नभएको भनि पत्रकार सम्मेलनमा दुखेसो प्रकट गर्नुभएको थियो । वि.स. २०७४ सालको निर्वाचनमा नेकपाले झण्डै दुई तिहाइ मत प्राप्त गरेता पनि पार्टी नेतृत्वबाट त्यसको कदर हुन नसक्दा कम्युनिस्ट शक्ति तित्तरवित्तर हुन पुगेको उल्लेख गर्नुभएको थियो ।