फाइल तस्वीर

काठमाडौं — नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काङ्ग्रेस २० वर्षसम्म हारे हार्छ, अब कुनै दलसँग पनि चुनावअघि गठबन्धन नगर्ने बताउनुभएको छ । काङ्ग्रेसका महामन्त्री थापाले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो ।

उहाँले अब आफ्नो दलका मतदातालाई अन्य पार्टीको चिह्नमा भोट हाल्न नलगाउने पनि बताउनुभयो । काङ्ग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयका विषयमा सहमति जुट्न नसक्दा पुष्पकमल दाहाल नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । काङ्ग्रेसका सबै सांसद मन्त्री बन्न लालायित छन् । अझ महामन्त्री थापा आबद्ध गुटमा सरकारमा सहभागी हुने तिव्र मतभेद बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाहाल नेतृत्वको सरकारमा सहभागी हुने विषयले काङ्ग्रेसबाट मन्त्री थपिने विषय अन्योलमा परेको छ । यसले काङ्ग्रेसभित्रको असन्तुष्टि थप बढ्ने देखिएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि सङ्घदेखि प्रदेशसम्मका सरकार गुमेपछि पार्टी सङ्गठन गर्न लाग्नुको साटो एकअर्काप्रति आरोपप्रत्यारोपमा काङ्ग्रेस नेताहरू खनिएका थिए । छोटो समयमै काङ्ग्रेस सङ्घदेखि प्रदेशसम्मका सरकारमा फर्केको छ । सत्तामा फर्किएको काङ्ग्रेसका नेताको ध्यान र रुचि सङ्गठन सुधारतर्फ नदेखिएको गुनासो कार्यकर्तामा भएको छ । (आजको नागरिक दैनिकबाट)