कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गरेर सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

देशका विभिन्न चरणका राजनीतिक आन्दोलनको अग्रपङ्क्तिमा जुट्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिन सकेमात्र यो वर्गको उचित सम्मान हुने सन्देशमा भनिएको छ ।

शासन व्यवस्थालाई संस्थागत गर्ने क्रममा नेपाली श्रम क्षेत्रमा अझै पनि अनेकन समस्या रहेको भन्दै मुख्यमन्त्री पाण्डेले ती समस्या क्रमैसँग समाधान गर्दै मजदुर वर्गकोे हक, हित र सुरक्षाका लागि गण्डकी प्रदेश सरकार सदा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सकेमात्र राजनीतिक परिवर्तनले सार्थकता पाउनेमा जोड दिँदै उहाँले देशविदेशका सम्पूर्ण नेपाली दिदीबहिनी/दाजुभाइमा विश्वभरका श्रमिकको अधिकार स्थापित भएको यस दिवसका अवसरमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना पनि गर्नुभएको छ ।