काठमाडौं — नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्ने भएको छ। २०७३ फागुन र २०७५ चैतको सफलतापछि लगानी बोर्ड नेपालले तेस्रोपल्ट लगानी सम्मेलन आयोजना गर्ने भएको हो ।

यतिखेर विदेशी लगानीकर्तामाझ लगानीको सुरक्षा र प्रतिफल ग्यारेन्टीमार्फत आफूप्रतिको विश्वनीयता देखाउने चुनौती सरकारसामु छ । यस्तो परिवेशमा अन्तर्राष्ट्रिय लगानीकर्तामाझ देशको सम्भावना उजागर गर्दै नेपाललाई लगानी गन्तव्यका रूपमा चिनाएर सरकारले वैदेशिक लगानी भित्र्याउन फेरि पनि लगानी सम्मेलन गरिन लागेको हो। लगानी बोर्ड नेपालको ५३औं बैठकले २०८० मै आयोजना हुन लागेको लगानी सम्मेलनको अवधारणपत्र स्वीकृति गर्नुको साथै सम्मेलन आयोजना गर्ने आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिइसकेको छ ।

जसअनुसार बोर्डले आवश्यक तयारी पनि थालिसकेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट भाषणमा लगानी सम्मेलन आयोजनाको उद्घोष गर्ने तयारी गरेको छ। त्यसपछि सम्भव भए २०८० चैत अगावै र नभए पनि आव २०८०–८१ भित्र (२०८१ अगावै) लगानी सम्मेलन गर्ने तयारी अगाडि बढाइएको हो। यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेला २०७३ फागुन १९ र २० तथा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७२ चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना भएको थियो।

आर्थिक कूटनीतिको प्रमुख स्तम्भ लगानी कूटनीतिमा विदेशस्थित दूतावासको भूमिका महत्वपूर्ण हुन्छ । दूतावास तथा उदीयमान अर्थतन्त्र, छिमेकी बजार, युरोपेली मुलुक, जापान र अमेरिका, खाडीमुलुकलगायत लगानीका स्रोतमा रहेका मिसनले ती संभावित लगानीकर्ताको चासो पहिचान गर्नेजस्ता विषय लगानी सम्मेलनको अवधारणापत्रले समेटेको छ । अवधारणापत्रले लागनी सम्मेलन कार्यान्वयन प्रक्रिया, बजेट, क्रियाकलाप र गतिविधिहरू समावेश गरेको छ । (आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट)