फाइल तस्वीर
काठमाडौं — लामो समयदेखि बन्द रहेको चीनतर्फका उत्तरी नाका खुला हुने भएका छन् । लामो समयदेखि बन्द रहेका नाका आज सोमबारदेखि खुला गरिन लागेका हुन् ।

२०७२ वैशाख १२ गते गएको भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका सोमबारदेखि खुला हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला रहेका छन् । मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने जनाइएको छ ।

गत चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच चीनमा भेटवार्ता हुँदा मे १ तारिक तदनुसार वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार आजदेखि चीन तर्फका सबै नाका खुला गरी सञ्चालनमा ल्याउन लागिएको हो ।

चीनतर्फका व्यापारिक नाका रसुवाको केरुङ, कोदारी र यारी रहेका हुन् । केरुङ र कोदारी नाकाबाट सामान आयात निर्यात धेरै हुने गर्छ । हुम्लाको यारी नाकाबाट समेत सामानको आयात हुने गर्छ । सात वर्षअघि गएको विनासकारी भूकम्पका कारण तातोपानी नाका लामो समयदेखि बन्द रहेको थियो । सो नाकाबाट बीचमा कार्गो सामान आयात भए पनि नाका पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।

विश्व व्यापी महामारीको रुपमा पैmलिएको कोभिड—१९ को सङ्क्रमणका कारण सरकारले २०७६ चैत ११ गते बन्द रहेको चीनतर्फको रसुवागढी–केरुङ नाका बन्द रहेको थियो ।