पञ्जाब — भारतको पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ । आज बिहान भएको उक्त घटनामा ११ जना अचेत अवस्थामा फेला परेको र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।

राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ)को एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ । एनडिआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण दिएका छैनन् । कारखानामा के कारण ग्यास चुहिन गएको हो भन्नेकुराको अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।