कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखराको चिप्लेढुङ्गास्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको छ । बिहीबार प्रदेशको मुख्यमन्त्री नियुक्त भई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उहाँले चिप्लेढुङ्गा पुगी नेपाली कांग्रेसका संस्थापक एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको हो ।

मुख्यमन्त्रीसँगै नवनियुक्तमन्त्री सरस्वती अर्याल तिवारीले पनि सालिकमा माल्यापर्ण गर्नुभएको थियो । माल्यार्पण समारोहमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतको उपस्थिति थियो ।