काठमाडौं — एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । घरेलु टिम नेपालले दिएको १५८ रनको चुनौती पछ्याउँदै गरेको कतारले सबै विकेट गुमाएर पराजित भएको हो । जितसँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, कतारले २५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए । सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको मद्दतले सो रन बनाउन सफल भए । एकदिवसीय क्रिकेटमा सन्दीपले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो ।