पोखरा — गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर संयुक्त सरकार बनाउन लागेका हुन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समय आज अपराह्न ४ बजे सकिँदैछ । नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले तोकिएको समयावधि भित्रै गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरिने बताउनुभयो । काङ्ग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने उहाँले उल्लेख गर्नुभयो ।

‘काङ्ग्रेसले मुख्यमन्त्री पाउने शीर्ष तहमा सहमति भइसकेको छ, मन्त्रालय बाँडफाँडलगायत विषयमा गठबन्धन दलबीच थप समझदारी बनाएर अघि बढ्छौँ’, प्रदेशसभा सदस्य थापाले भन्नुभयो । काङ्ग्रेसको मुख्यमन्त्री बन्नेमा कुनै द्वविधा नरहेको उहाँको भनाइ छ । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले भने मुख्यमन्त्री दाबी गर्ने विषयमा केन्द्रको निर्देशन पर्खिरहेको बताउनुभयो । ‘हाम्रो पनि मुख्यमन्त्रीमा दाबी छ, केन्द्रबाट के निर्देशन आउँछ, सोहीअनुसार हुन्छ’, उहाँले भन्नुभयो, ‘अहिले नै सबै विषयवस्तु टुङ्गीसकेको छैन ।’

माओवादी केन्द्रले पनि मुख्यमन्त्री आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । अहिले मुख्यमन्त्री नपाउने स्थितिमा आलोपालोका लागि समय नै तोकेर लिखित सहमति गर्नुपर्ने उसको माग छ । मुख्यमन्त्री कांग्रेसलाई छाड्दा सातमध्ये तीन मन्त्रालयमा माओवादी केन्द्रको दाबी छ । राष्ट्रपति चुनावमा केन्द्रीय सत्तागठबन्धन फेरिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठन हुन लागेको हो । विश्वासको मत पाउन नसकेपछि नेकपा (एमाले)का खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो । 

सत्ता साझेदार माओवादी केन्द्रले गत चैत १० गते समर्थन फिर्ता लिएपछि अघिल्लो सरकार अल्पमतमा परेको थियो । अहिलेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनसँग सरकार बनाउन सहज बहुमत छ । साठी सदस्यीय प्रदेशसभामा काङ्ग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एक सदस्य छन् ।