ताप्लेजुङ — ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाए अनुसार मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेका हुन् । दोर्चीका बुवा र आमा घाइते छन् ।

गएराति करिब नौ बजेतिर घरमा खाना खाइरहेको बेला उनीहरुलाई चट्याङ लागेको थियो । तिनै जनालाई गाउँपालिकाको एम्बुलेन्समा राखेर उपचारका लागि जिल्ला सदरमुकाम पठाइएकोमा ११ वर्षीय दोर्चीलाई चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष फुर्बा शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चट्याङले घरमा जडान गरिएको बिजुलीको मिटर बक्स, वायरिङ गरिएका तार, ढुङ्गा माटोले बनेको घरको भित्ता र सुधारिएको चुल्होसमेत क्षति पुगेको छ । ‘घरको मुल खम्बामा स्वीच रहेछ । त्यही मुनि छोरा रहेछ, उसैलाई बढी असर परेर बित्यो,’ वडा अध्यक्ष शेर्पाले भन्नुभयो । उनका आमा र बुवाको भने जिल्ला अस्पतालमै उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।