कास्की — गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार सत्ताच्युत भएपछि नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको एमाले सरकारले ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि आजदेखि ३ दिन अर्थात् आगामी बिहिबार दिउँसो ४ बजेसम्मको समय दिनुभएको छ ।

प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गर्नुभएको हो । उक्त उपधारा अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको हो ।
साठ्ठी सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ । प्रदेश सभामा नेपाली काङ्ग्रेसको २७ जना, माओवादी केन्द्रको ७ जना, एमालेको २२ जना, एकीकृत समाजवादीको एक जना र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ जना सांसद रहेका छन् ।

gandaki