कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिष चौधरी सनवोरा नदीले गर्दै आएको भू–क्षय रोक्नका लागि जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निर्माणमा अग्रसर भएर लाग्नुभएको छ । गाउँका बासिन्दासँगै गत वर्षसमेत उहाँले जनश्रमदान गरी जैविक तटबन्ध गर्नुभएको थियो ।

जैविक तटबन्ध निर्माण हुँदा बर्सेनि नदीले गर्दै आएको भू–क्षय रोकिएको छ । जैविक तटबन्धले बाढीले गर्ने भूक्षय रोक्न उपयोगी भएपछि यस वर्ष उहाँ जनश्रमदानमा सहभागिता जनाएको बताउनुहुन्छ । उहाँजस्तै गाउँका तीन दर्जन बढी बासिन्दाले जैविक तटबन्ध निर्माणका लागि श्रमदान कार्यक्रममा सहभागिता जनाउनुभएको छ ।

राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)को सहकार्यमा सञ्चालन गरिएको एमरेड परियोजनाअन्तर्गत नगरपालिकासँगको संयुक्त लागत साझेदारीमा नदीमा तटबन्ध निर्माणकार्य अगाडि बढाइएको छ । तटबन्ध निर्माणका लागि नगरपालिकाको वडा नं ३ को रु दुई लाख ५० हजार र परियोजनाको रु ५३ हजार छ सय ६४ गरी रु तीन लाख १५ हजार नौ सय ३० को लागतमा एक सय ७५ मिटर जैविक तटबन्ध निर्माण भइरहेको परियोजनाका संयोजक महेश घिमिरेले बताउनुभयो । उहाँका अनुसार तटबन्ध निर्माणका लागि स्थानीय बासिन्दाको जनसहभागिता रहने छ ।

नदीको किनारमा बाढीले गर्नसक्ने जग्गा कटानलाई रोक्ने कार्यसँगै सम्भावित क्षतिको न्यूनीकरणका लागि विभिन्न जैविक तथा अजैविक स्रोत (बाँस, पलाष्टिक बोरा, स्याउला, बालुवा र मानवीय स्रोत)को उच्चतम् प्रयोग गरेर जैविक तटबन्ध निर्माण हुने उहाँले बताउनुभयो ।

“जैविक तटबन्ध आर्थिकरूपमा मितव्ययी तथा सामुदायिकस्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले बाढी प्रभावित समुदायमा जैविक तटबन्धप्रतिको विश्वास बढदो छ”, उहाँले भन्नुभयो, “महँगो तटबन्धन (ग्यालभेनाइज्ड) जालीमा ढुङ्गा भरेर बनाइएको तटबन्धको उत्तम विकल्पको रूपमा यसलाई लिन थालिएको छ ।”

स्थानीय स्रोत र साधनको उपयोगसँगै विस्तृत प्राविधिक ज्ञानको त्यति आवश्यकता नहुने भएकाले जैविक तटबन्धको महत्व बाढी प्रभावित क्षेत्रमा बढ्दै गइरहेको उहाँको भनाइ छ । “वर्षात्मा नदीमा आउने बाढीले जग्गा कटान गर्दै आएको थियो”, स्थानीय बासिन्दा चेतराज चौधरीले भन्नुभयो, “गत वर्ष जैविक तटबन्ध निर्माण भएपछि भू–क्षय पूर्णरूपमा रोकिएको छ, गत वर्ष तटबन्ध हुन नसकेको क्षेत्रमा जैविक तटबन्ध निर्माण अगाडि बढाएका छौँ ।”

नगरप्रमुख रणबहादुर महराले जैविक तटबन्ध निर्माणकार्य थोरै लागतमा धेरै ठाउँमा गर्न सकिने र भरपर्दो भएकाले यसलाई निरन्तरता दिइँदै आएको बताउनुभयो । “समाज कल्याण संस्थासँग सहकार्य गरी जैविक तटबन्ध निर्माण अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “यस कार्यलाई अर्को वर्षको बजेटमा निरन्तरता दिन्छौँ ।”

परियोजनाका संयोजक घिमिरेका अनुसार पुर्नवास नगरपालिका–९ सीताबस्तीस्थित दोदा नदीमा रु नौ लाख दुई हजार तीन सय ८३ को लागतमा पाँच सय मिटर जैविक तटबन्ध निर्माणकार्य अगाडि बढाइएको छ । जसका लागि नगरपालिकाको तर्फबाट रु तीन लाख ९९ हजार सात सय ९१, प्रधानमन्त्री रोजगार कार्यक्रमको तर्फबाट रु एक लाख १८ हजार सात सय ४६ र परियोजनाको तर्फबाट रु तीन लाख ६८ हजार आठ सय २१ बजेट परिचालन गरिएको छ । यसैगरी शुक्लाफाँटा नगरपालिकासँगको सहकार्यमा वडा नं १ खजुवापट्टीमा रु दुई लाख ७३ हजार तीन सय ४३ को लागतमा एक सय ५० मिटर जैविक तटबन्ध निर्माणका लागि सम्झौता गरिएको छ ।

बाँसको जाली बनेर बनाइने जैविक तटबन्धको स्थायित्व र बलियोपना बढाउनका लागि बलियोसँगै गहिरो जरा हाल्न सक्ने जातका बिरुवा लगाउने कार्य गरिने उहाँले बताउनुभयो । तटबन्धमा लगाइएका बिरुवाबाट दोहारो फाइदा लिनका लागि स्थानीय भू–बनोट र हावापानी सुहाउँदो जातका बिरुवा रोप्ने कार्यमा परियोजनाअन्तर्गत समुदायलाई प्राविधिक एवं आर्थिक सहयोग गरिने भएको छ ।

“जैविक तटबन्धनले बाढीको पानीलाई मानव बस्तीमा पस्नबाट रोकेर समुदायलाई प्रत्यक्षरूपमा बाढी प्रकोपको सम्भावित क्षतिबाट जोगाउँछ”, शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “नदी छेउका खेतीयोग्य जमिन कटान हुनबाट जोगाउँदछ र बाढी आएका बेलामा पानीको बेगलाई नियन्त्रण गरेर मूलधारतिर फर्काउन मद्दत गर्ने भएकाले जैविक तटबन्धको महत्व बढ्दै गएको छ ।”

समुदायस्तरमा र समुदायकै परिश्रम र आंशिक लगानीमा जैविक तटबन्ध निर्माण गरिने भएको हुनाले समुदायको हरेक तप्कालाई जोड्ने काम गर्ने उल्लेख गर्नुहँुदै उहाँले समुदायको पूर्ण सहभागिता हुने भएकाले तटबन्धको रेखदेख तथा मर्मतसम्भार गर्न समुदायलाई अभिप्रेरित गराउने बताउनुभयो ।

स्थानीय स्रोत तथा साधनको अधिकतम पय्रागे हनुे हुँदा अतिरिक्त लगानी घटाउन मद्दत पुग्नुका साथै बाढीबाट हुनसक्ने सम्भावित आर्थिक क्षतिको न्यूनीकरण गर्ने भएकाले जैविक तटबन्धमा विभिन्न किसिमका जडीबुटी तथा डाले, भुँइघाँस उत्पादन गरेर आर्थिक फाइदा लिन सकिने उहाँको भनाइ छ । रासस