फाइल तस्वीर
काठमाडौं — अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अनुशासन समितिले मछिन्द्र एफसीसहित चार क्लबका पदाधिकारीहरुलाई कारवाही गरेको छ । एन्फाले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा अनुशासन उल्लङघन गरेको आरोपमा साविक विजेता मछिन्द्र एफसी, सङ्कटा क्लब, एपीएफ एफसी र एफसी खुमलटारका पदाधिकारीलाई विभिन्न खेलमा अनुशासन उल्लङ्घन गरेको भन्दै कारवाही गरेको हो ।

अनुशासन समितिले मछिन्द्र, सङ्कटा र खुमलटार क्लबलाई १०/१० हजार तथा एपीएफलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो । समितिले एपीएफ क्लबकै अफिसियल जिवेश पाण्डेलाई आठ खेलको प्रतिबन्ध र १० हजार जरिवाना गरेको छ ।

समितिले अप्रिल १६ (म्याच ६०) मा एपीएफ फुटबल क्लबसँगको खेलमा ढिलाइ गरेको भन्दै समितिले सङ्कटा क्लबलाई १० हजार जरिवाना गरेको हो । गोलकिपरको जर्सीलाई लिएर भएको विवादले खेलको सुरुवात २६ मिनेट ढिलो गरी सुरु भएको थियो ।

सोही खेलको दोस्रो हाफ दुई मिनेट ढिलो गरेको भन्दै समितिले एपीएफ फुटबल क्लबलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । एपीएफ क्लबका अधिकारी जिवेश पाण्डे पिचमा प्रवेश गरेपछि खेल ढिलो सुरु भएको थियो ।

यस्तै समितिले अप्रिल १९ (म्याच ६७) मा मछिन्द्र फुटबल क्लबविरुद्धको खेल फोर्थ अफिसिलय ज्ञानबहादुर मोक्तानलाई हातपात गरेकोमा एपीएफका पदाधिकारी पाण्डेलाई पनि आठ खेलको निलम्बन र १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

पाण्डेले खेलपछि फोर्थ अफिसियललाई हातपात गरेका थिए र फिफा डिसिप्लिन कोड च्याप्टर (२), दफा (१एल) शारीरिक बमोजिम कारबाही गरिएको एन्फाले जनाएको छ । समितिले गत अप्रिल ११ मा मच्छिन्द्र फुटबल क्लबसँगको खेलपछि ड्रेसिङ रुममा रहेका कुर्सी तोडफोड गरेको भन्दै एफसी खुमलटारलाई १० हजार जरिवाना समेत गरेको छ । च्यासल रङ्गशालामा भएको खेलमा खुमलटार डिफेन्डिङ च्याम्पियनसँग ७–३ ले पराजित भएको थियो ।

अप्रिल १५ (म्याच ५८) मा न्युरोड टिमसँगको खेलपछि रेफ्रीमाथि आक्रमण गर्ने प्रयास गरेको आरोपमा मछिन्द्रलाई पनि १० हजार जरिवाना पनि गरिएको छ । एनआरटीसँगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।