रुपन्देही — लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत प्राप्त गर्न नसक्दा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभाको आज सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँ नेतृत्वको सरकार ढलेको हो ।

प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ पक्ष र विपक्षमा ५३ मत पर्यो । यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ भने मुख्यमन्त्रीलाई सत्ता टिकाइराख्न ४४ सांसदको आवश्यक रहेको थियो । तर, उनले बहुमतका लागि आवश्यकभन्दा कम मत पाएका हुन् । आजको मतदानमा एक सांसद भने उपस्थित भएनन् ।


यसअघि प्रदेशसभाबाट विश्वासको मत नपाएपछि गण्डकी र सूदूरपश्चिम प्रदेशसमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेस नेतृत्वमा सरकार बनिसकेको छ भने गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ । जसमा माओवादीले गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीको दावी गर्दै आएको छ ।