काठमाडौं – थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले दुईचरण गरी आईपीओ निष्काशन गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र दोस्रो चरणमा सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।

स्थानीय बासिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि आफ्नो जारी पुँजीको ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। जसअनुसार यस कम्पनीले १०० अङ्कित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।

यस आईपीओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ अर्थात् साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ अर्थात् साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ७३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको सेयर नेपाल वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि उक्त आईपीओ निष्कासन गरेको हो । जसअनुसार प्रतिसेयर १०० अंकित दरले ७३ हजार ८७५ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

यस आईपीओमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले वैशाख २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख २५ गतेभित्र आवेदन दिनु पर्ने हुन्छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।