मुख्यमन्त्री खगराज अधिकारी, फाइल तस्वीर
पोखरा – गण्डकी प्रदेशमा सत्ताको नयाँ समीकरण बदलिएसँगै एमालेका नेता समेत रहनुभएका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको हो ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम अधिकारीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । मत विभाजनमा मुख्यमन्त्री अधिकारीको पक्षमा जम्मा २४ मत प्राप्त भएको छ । गण्डकी प्रदेशमा ६० सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्रीका लागि कम्तिमा ३१ मत आवश्यक पर्दछ ।

गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री अधिकारीले विश्वासको मत माग्नुभएको थियो । एमालेका २० र राप्रपाका २ जना गरी उहाँको पक्षमा २४ मतमात्रै परेको थियो ।

गत पुस २५ गते नेकपा माओवादी केन्द्र र राप्रपाको समर्थन एमाले प्रदेश संसदीय नेता खगराज अधिकारी मुख्यमन्त्री बन्नुभएको थियो । प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

गण्डकी प्रदेशमा अब बन्ने नयाँ सरकार नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनको हुनेछ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले दावी गरेका छन् । आधा आधा कार्यकालमा सहमति जुटेता पनि पहिलो कार्यकालका लागि दुवैले दावी गर्दै आएका छन् ।