काठमाडौं — नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ को बाह्रौँ संस्करणमा सद्भावनादूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त हुनुभएको छ । ‘कबड्डी ४: द फाइनल म्याच’ मा अभिनय गरेदेखि दर्शकमाझ स्थापित हुनुभएकी अभिनेत्री मगर अभिनित ‘जारी’ प्रदर्शनरत छ । उक्त चलचित्रलाई समीक्षक र दर्शक दुवैले मन पराएका छन् ।

चलचित्र महोत्सव तीन स्थानमा आयोजना हुने द डेलिगेसन अफ द युरोपियन युनियनका सूचना अधिकारी अम्बर मैनालीले जानकारी दिनुभयो । “यस वर्षको संस्करणमा आठ युरोपेली र आठ नेपाली छोटा चलचित्र देखाइने छ । सन् २०२३ लाई मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सवका रूपमा मनाउँदै आइएकाले यस वर्षको नारा ‘सेलिब्रेटिङ ह्युमन राइट्स फर अल’ छनोट गरेका छौँ”, उहाँले भन्नुभयो ।

सूचना अधिकारी मैनालीका अनुसार वैशाख १५ देखि १७ गतेसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, २० देखि २२ गतेसम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र २९ देखि जेठ १ गतेसम्म काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा महोत्सव आयोजना हुँदैछ ।