तस्वीर क्यान
काठमाडौं — एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित निकाल्दै विजयी यात्राको सुरुवात गरेको छ । त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले मलेसियामाथि छ विकेटको शानदार जित निकालेको हो ।

पहिले व्याटिङ गरेको मलेसियालाई सुरुवाती फिल्डिङ गरेको नेपालले छ विकेटले हराउने क्रममा सन्दीप लामिछाने र सोमपाल कामीले समान ३–३ विकेटको साझेदारी गरेका थिए भने ललित राजवंशीले २ विकेट लिँदा गुल्शान झाले १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा आएको नेपालले ८२ खेल बाँकी रहँदै मलेसियामाथि छ विकेटको शानदार जित निकाल्न सफल भयो । यसक्रममा ब्याट्सम्यान कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । उनले ४० बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ७० रन बनाए । यस्तै, भीम सार्की पनि ९८ बल खेल्दै समान ७० रन बनाउन सफल भए ।

सुरुवाती ब्याटिङमा आएका आसिफ खानले ३ बल खेल्दै १ रन बनाएर पेभेलियन फर्किएपछि नेपाली टिमले केही दवावको महसुस गर्नुपरेको थियो । तर, ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३१ बलमा ३८ रन बनाउँदै नेपाललाई लयमा फकाए । नेपाललाई विजयी यात्रालाई सहज बनाउन कप्तान रोहित पौडेलले ४२ र दिपेन्द्रसिंह ऐरीले ५ रन जोडेका थिए । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई हराउँदै सुखद सुरुवात गरेको छ ।


यसैगरी मुलपानीस्थित क्रिकेट मैदानमा भएको अर्को खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

हङकङका लागि बाबर हायातले ९४ बलमा १०८ रनको शतकीय योगदान पारी खेले । उनले १० चौका र ६ छक्का प्रहार गरे । त्यस्तै निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय योगदान गरे । सिङ्गापुरका लागि आरित्रदत्त र रमेश कालिमुथुले समान एक/एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४२ दशमलब १ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो । सिङ्गापुरका लागि आरित्र दक्तले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ५७ बलमा ९ चौका प्रहार थिए ।

यसैगरी आर्यन मोदीले २१, रमेश कालीमुथुले १८, थिलिपन अमाइदुराइ र अभी दीक्षितले समान १२ तथा सुरेन्द्रन चन्द्रमोहन र प्रशिन परमले समान १०÷१० रन जोडे ।

हङकङका लागि एहसान खानले चार विकेट लिए भने यासिम मूर्ताजाले तीन विकेट झारे । त्यसैगरी मोहम्मद घनजफर, अइजाज खान र आयुष शुक्लाले समान एक/एक विकेट लिए ।