फाइल तस्वीर
काठमाडौं – एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत छनोटको एसीसी प्रिमियर कप आजबाट नेपालमा सुरु हुँदैछ । आजबाट सुरुहुने उक्त प्रतियोगिताको दुई खेलमध्ये एक लेख त्रिभूवन विश्वविद्यालयस्थित कीर्तिपुर क्रिकेट रङ्गशालामा र अर्को खेल मुलपानीस्थित रङ्गशालामा हुनेछन् ।

नेपालले आज आफ्नो पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी मलेसियासँग कीर्तिपुर मैदानमा खेल्ने छ भने मुलपानी रङ्गशालामा हङकङ र सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ ।

मूलपानीको रङ्गशालामा यसअघि विभिन्न राष्ट्रिय प्रतियोगिताहरू मात्र आयोजना हुँदै आएको थियो भने कीर्तिपुरको रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हुनेगरेको गरेको थियो ।

आजबाट सुरुहुने एसीसी प्रिमियर कपमा नेपालले घरेलु मैदानको सदुपयोग गर्दै मलेसियासँग ५० ओभरको खेल पहिलो पटक खेल्न लागेको हो । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १–१ खेल हुने कार्यतालिका रहेको छ।

कुल २४ खेल हुने यस प्रतियोगितामा १० देशका टिमले भाग लिएका छन् । यी १० टिमलाई समूह ‘ए’ र समूह ‘बी’ मा विभाजन गरिएको छ । दुवै समूहमा पाँच÷पाँच टिम सहभागी हुनेछन् । समूहमा शीर्ष स्थानमा रहने दुई टिमले सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता टिम वैशाख १८ गने फाइनलमा भिड्ने छन् ।

प्रतियोगितामा फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै, शीर्ष तीनमा रहने टोली एसिसी इमर्जिङ कपका लागि छनोट हुनेछन् ।

आयोजक राष्ट्र नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा रहेका मलेसिया, साउदी अरेबिया, कतार र ओमानसँग नेपालले प्रतिस्पर्धा गर्ने छ भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् ।