साङ्केतिक तस्वीर
दमौली — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुर्घटनामा परी सात जना यात्रु घाइते भएका छन् । दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट एक सय आठ फिट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुने चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

जीप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन् ।

घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।