फाइल तस्वीर
काठमाडौं — नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबारदेखि नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने १४ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ । यही वैशाख ५ गतेदेखि १८ गतेसम्म नेपालमा हुने उक्त क्रिकेट प्रतियोगिता खेल्नका लागि क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुनलागेको यस प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा खेलाइने भएको छ । यस प्रतियोगितामा विभिन्न १० राष्ट्रका टोली सहभागिता हुने क्यानले जनाएको छ । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

विभाजन गरिएको अनुसार समूह ‘ए’ मा आयोजक राष्ट्र नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल प्रतियोगिताको उद्घाटन खेलमा वैशाख ५ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेभएको छ । फाइनल खेलको विजेता टिमले आगामी एसिया कपका लागि छनोट हुनेछ । एसिया कप सेप्टेम्बरमा सञ्चालन हुनेछ ।

क्यानले आज घोषणा गरेको नेपाली राष्ट्रिय टिमका खेलाडीहरुमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी र कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् । यसैगरी वैकल्पिक खेलाडीतर्फ किशोर महतो, अर्जुन साउद, सन्दीप जोरा र सूर्य तामाङको नाम समावेश गरिएको छ ।