इस्लामाबाद — पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ । शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिंदा उहाँको मृत्युभएको हो ।
इस्लामाबाद प्रहरीद्वारा जारी विज्ञप्तिमा “उहाँलाई दुर्घटनापछि तत्कालै अस्पताल लगिएको थियो, तर अत्यधिक आन्तरिक रक्तस्रावका कारण उहाँको मृत्यु भएको छ,” भनिएको छ ।
मन्त्रीको कारलाई ठक्कर दिने गाडीका चालकसहित गाडीमा सवार अन्य चार जनालाई हिरासतमा लिइएको छ । इस्लामावादका प्रहरी महानिरीक्षक अकबर नासिर खानले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रीको टाउकोमा गम्भीर चोट लागेको र यो उहाँको लागि घातक साबित भएको बताउनुभयो ।
पाकिस्तानका राष्ट्रपति आरिफ अल्भी र प्रधानमन्त्री शाहबाज सरिफले शोक व्यक्त गर्दै दिवङ्गत मन्त्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।