फाइल तस्वीर
ताप्लेजुङ – ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ । मेरिङ्देन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङवाङको संयोजकत्वमा गठित क्षतिपूर्ति निर्धारण समितिले जग्गा जमिनमा भएको क्षतिको विवरण सङ्कलन गरेको छ ।

निर्माण पक्षले तयार गरेको मापदण्डभित्र क्षति पुगेका धेरै स्थानीयवासीले यसअघि नै क्षतिपूर्ति पाए पनि कतिपयले आफ्नो जग्गा जमिनमा क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गर्न थालेपछि उक्त समिति बनेको थियो । मिक्वाखोला गाउँपालिकातर्फ खोलाले कटाएको जमिनको नाप नक्सा हेरेर पीडितलाई सम्बोधन गर्ने जस्ता विषयमा जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल भएको समितिका संयोजक दुर्गाप्रसाद चोङवाङले बताउनुभयो ।

अनुगमनका क्रममा मेरिङ्देन गाउँपालिका प्रमुख डम्बर हाङ्गाम, सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराई, नापी कार्यालयका प्रतिनिधि, प्रभावित क्षेत्रका वडाध्यक्षलगायत सहभागी भएका थिए । रासस