फाइल तस्वीर
काठमाडौं — उद्योग व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन हुनुभएको छ । महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष सर्वसम्मत रुपमा अध्यक्ष चयन हुने व्यवस्था भएअनुरुप ढकाल आगामी कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको हो ।

नवनियुक्त अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको २० औं अध्यक्ष बन्नुभएको हो । २०७७ सालमा सम्पन्न महासङ्घको निर्वाचनबाट ढकाल वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनभएको थियो । अध्यक्षमा चयन हुनुभएका ढकाललाई महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनीयताको सपथ खुवाएर पद हस्तान्तरण गर्नुभएको छ ।

यसैगरी महासङ्घको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको थियो । हिजो बुधबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आज बिहीबार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने तय भएको थियो । तर अन्तिम समयमा आएर उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्नुभएपछि अञ्जन वरिष्ठ उपाध्यमा निर्विरोध निर्वाचित हुनुभयो ।

महासङ्घको ५७ औ साधारणसभाबाटं अध्यक्ष बन्नुभएका ढकालले आजदेखि नै कार्यभार ग्रहण गर्नुभएको छ । नयाँ अध्यक्षको जिम्मेवारीमा आउनुभएका ढकालले महासङ्घको छवि अझै उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।