वीरगञ्ज रक्सौल मुख्य नाका, फाइल तस्वीर
पर्सा — देशकै सबैभन्दा धेरै राजस्व सङ्कलन हुने वीरगञ्ज–रक्सौलको मुख्य नाका चौबीसै घण्टा खुला हुने भएको छ । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा वीरगञ्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको रात्रि बजारका सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनका लागि चौबीस घण्टा खुला गरिन लागिएको हो ।

यस अघि सधैं राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द हुने उक्त नाका चैत ३० बिहीबारदेखि २०८० साल वैशाख २ गते शनिबारसम्म गरी तीन दिन खुल्ला हुनेछ । भारतीय पर्यटकहरूलाई लक्षित गरी नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रिकालीन बजारका लागि वीरगञ्ज नाका चौबिसै घण्टा खुला रहने वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी गराउनुभएको छ । तीन दिनसम्म रात्रिकालनि बजारको आयोजना वीरगञ्ज महानगरपालिकाले गर्न लागेको हो ।

नगर प्रमुख सिंहका अनुसार रात्रि बजार लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरेर रात्रिकालीन बजारको आयोजना गर्ने र तीन दिन चौबीसै घण्टा नाका खुला राख्ने निर्णय भएको हो ।