अमेरिकाको एक बैंकमा कार्यरत कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्युभएको छ । केन्टुकी राज्यको लुइसभिलस्थित बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो ।

ती कर्मचारीले चलाएको गोली लागि अन्य नौ जना व्यक्ति पनि घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मृत्यु हुनेहरु ४० वर्षदेखि ६४ वर्षसम्मका नागरिक रहेको बताइएको छ । घाइतेमध्ये एकजना दुई साताअघि मात्रै भर्ना भएका एकजना प्रहरी अधिकारी पनि छन् । उनको टाउकोमा गोली लागेको र अवस्था गम्भीर रहेको समाचारमा जनाइएकोे छ ।

आक्रमणकारीले आफ्नो इन्स्टाग्राममा गोली चलाउदै गरेको लाइभ स्ट्रिम गरेको त्यहाँको प्रहरीले जनाएको छ । शहरको केन्द्रमा रहेको पुरानो नेसनल बैंकमा गोली चलेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाईडेनले ट्वीटरमार्फत धेरै अमेरिकीहरुले निहत्थामा ज्यान गुमाईरहेको बताउँदै कङ्ग्रेसमा रिपब्लिकनहरूले अमेरिकी जनताको जीवन रक्षाका लागि कहिले काम गर्नेछन् भनी प्रश्न गर्नुभएको छ ।

अमेरिकी डेमोक्रेटिक पार्टीले कडा बन्दुक सुरक्षा कानून बनाउन लामो समयदेखि कङग्रेसलाई जोड दिदै आएको छ । तर रिपब्लिकन सांसदहरूले भने त्यस्को कडा विरोध गरिरहेको छ । अमेरिकी उक्त केन्टकी राज्यमा २१ वर्षभन्दा माथिका अधिकांश वयस्कहरूलाई स्वीकृतविनै बन्दुक किन्न र बोक्न अनुमति दिने गर्दछ । अमेरिकामा वर्षेनी बन्दुकधारीको उग्रताका कारण सयौं मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको समाचार आइरहन्छन् ।