वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले आफ्नो पार्टी एमाले सरकारबाट बाहिरिएसँगै आज सोमबारदेखि लागु हुने गरी समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो ।

एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीले हिजो आइतबार राजीनामा दिएका थिए । गत पुस १० को समीकरणअनुसार एमालेले माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेर विश्वासको मत दिएको थियो ।

कर्णाली प्रदेशमा एमालेका सभामुखसहित १० प्रदेशसभा सदस्य रहेका छन् । एमालेले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।