अक्षते–घोडाबाँधे सडक खण्ड, तस्वीर रासस

ढोरपाटन — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्दा पनि यो खण्डको अधिकांश सडकमा अहिलेसम्म कालोपत्रे हुने सकेको छैन । ठेकेदारको चरम लापरवाही, सरकारी निकायको नालायकीपनले दुई दशक बितिसक्दा पनि सडक कालोपत्रे बन्न नसकेको हो ।

हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् । यात्रा गर्न कठिक भएको स्थानीयहरुको गुनासो बारम्बार आइरहेको छ । तर कसैको कानले सुनको छैन । यो सडक खढडमा यात्रा गर्ने यात्रुहरु आजित भएका छन् । कतिपय त गाउँबाटै विस्थापित भएका छन् । करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने केही काम भइरहेको देखिएता पनि माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ ।

दुई खण्डमा कालोपत्रका लागि २०७२÷७३ मा सम्झौता भएको थियो । हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ । बिहुँ र अक्षते खण्डको काम गर्ने असारसम्म छ । बिहुँमा सुस्त गतिमा काम हुँदा समयमै सकिने अवस्था छैन । बागलुङदेखि खहरेसम्म केही समय अघि सडक कालोपत्र गरिएको थियो भने हाल खहरेदेखि अक्षतेसम्म काम भइरहेको छ । उक्त खण्डमा चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ ।

“हिउँदमा धुलो र बर्खामा हिलो घरभित्र पस्छ”, बागलुङ नगरपालिका–३ खहरेका जङ्गबहादुर कार्कीले भन्नुभयो–“सडकमा पानी हाल्दाहाल्दैमा अधिकांश समय बित्छ ।”

माथिल्लो खण्डमा कामलाई तीव्रता दिन स्थानीयले माग गरेका छन् । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक बित्नै लाग्यो । पटक–पटक म्याद थप गर्ने गरिएको छ । निर्माण कम्पनीको ढिलासुस्तीले काम सम्पन्न हुन नसकेको स्थानीय वीरबहादुर विकले बताउनुभयो । “सडक छेउछाउ घर बनाउने क्रम बढे पनि धुलो र हिलोले सास्ती भएको छ”, उहाँले भन्नुभयो ।

लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटर क्षेत्र मध्ये बागलुङ खण्ड एक सय ४२ किलोमिटर लामो छ । निसीखोला क्षेत्रमा दुई वर्ष अघि सडक कालोपत्र भइसकेको छ । घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक एक दशक अघि नै कालोपत्र गरिएको थियो । उक्त खण्डको हाल मर्मतसम्भार हुँदैछ । असार मसान्तसम्म सबै काम सम्पन्न हुने लोकमार्ग आयोजना कार्यालय, पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताउनुभयो । “काम नसकिए ठेक्का रद्द हुन्छ”, उहाँले भन्नुभयो ।